
रञ्जन अधिकारी असोज ३० असोज / पोखराको सराङकोटबाट उडेका छ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका छन् । फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् ।
पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको थियो । ६ वटा कम्पनीका ती प्याराग्लाइडिङमा उडेका सबै ११ जना नै सकुशल रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा सन्तुलन बिग्रिएको थियो ।
प्याराग्लाइडर सिधै खसेका नभई हावाको चाप अनुसार अनुकुल मिलाउँदै विस्तारै सुरक्षित रुपमा तालमा झारिएको चालकहरु बताउँछन् । प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धारकर्मीहरूले किनारामा ल्याएका थिए । जलारीहरुले पनि सहयोग गरेको खत्रीले बताए ।

अस्पताल लैजानुपर्ने घाइते कोही पनि भएका छैनन् । यद्यपी प्रहरीले एकजना चिनियाँ यात्रुलार्इ मेट्रो सिटी अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
