
बिग न्यूज
वालिङ, १ मंसिर । उपप्रधान तथा शिक्षा मन्त्री एंव स्याङ्जा क्षेत्र नं. २ का उमेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको समृद्धि नै आफ्नो चाहाना भएको बताएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको पत्रकार भेटघाट तथा वीपि काँग्रेसका उमेदवारको उमेदवारी फिर्ता कार्यक्रममा बोल्दै स्याङ्जाको समृद्धिसँगै पुरै मुलुकको सम्बृद्धिको लागि आफ्नो उम्मेदवारी भएको बताए ।
नेपालकै नमुना जिल्लाको रुपमा विकास गर्न मेरो उमेदवारी रहेको औल्याउदै श्रेष्ठले स्याङ्जाको पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासमा अवको पाँच बर्ष ध्यान केन्द्रित हुने बताए । धर्म र संस्कृतिको रक्षा गर्न अहिले नेपाली काँग्रेसले विजयी हासिल गर्नु पर्ने बताउदै उपप्रधान मन्त्री तथा उमेदवार श्रेष्ठले कम्युनिष्टले साम्यवाद लादेर मुलुकलाई धरापमा पार्न खोजेको आरोप लगाए ।
लोकतान्त्रिक शक्ति र बामगठबन्धन शक्ति बीचको यो अन्तिम लडाईमा नेपाली काँग्रेसलाई विजयी बनाउन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । जटिल परिस्थितीमा मुलुक उभिरहेका बेला जनताको मौलिक अधिकार, विभिन्न जातजातीले पाउने अधिकार, धर्म संस्कृतिको बचाउ गर्दै सुनिश्चितका लागि काँग्रेसले विजयी हासिल गर्नुपर्ने धारणा व्यक्त गरे । स्याङ्जाका दुई क्षेत्र र ४ प्रदेशमा काँग्रेसको झण्डा फहराउने दावी पनि श्रेष्ठले गरे ।
साथै वीपि काँग्रेस पार्टीको नामबाट श्रेष्ठ लडेको चुनाव क्षेत्रबाट प्रतिनिधि सभाका लागि उमेदवारी दिएका रामभक्त भट्टराईले लोकतन्त्रलाई बलियो बनाउन भन्दै उमेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । निर्वाचन कार्यलयबाट फिर्ता लिन पाउने समय अवधि सकिएपनि भट्टराईले काँग्रेस र श्रेष्ठलाई समर्थन गर्दै भोट माग्ने प्रतिवद्धता व्यक्त गरे ।
सरकारका उपप्रधान मन्त्री तथा उमेदवार रहेका श्रेष्ठ आफुलाई मत माग्दै घरदैलो र चुनावी सभामा व्यस्त रहेका छन् । स्याङ्जा काँग्रेसको चुनावी रणनीति र प्रचारप्रसारका बारेमा पनि श्रेष्ठले जानकारी दिएका थिए ।
वीपि हिँडेको, बसेको जिल्ला स्याङ्जामा बामगठबन्धनले विजयी हासिल गर्न दिनु हुदैन भन्ने सोचका आधारमा आफुले उमेदवारी फिर्ता लिएर काँग्रेसका उमेदवार श्रेष्ठलाई सघाउने संकल्प गरेको भट्टराईले बताएका छन् ।
