
बिग न्यूज
पोखरा, ७ मंसिर । कास्की क्षेत्र नम्बर ३ प्रदेश ‘क’तर्फकी काँग्रेसकी उम्मेदवार शारदा पौडेल विहिबार हेमजामा घरदैलो कार्यक्रममा सरिक भईन् । पौडेललाई हेमजाबासीले भव्य स्वागत गर्दै चुनावमा भोट दिने वचन दिएका छन् ।
विशेषगरि काँग्रेसले एउटा प्रतिभावान महिलालाई उम्मेदवार बनाएको भन्दै त्यहाँका महिलाहरुले निकै खुशी व्यक्त गरेका थिए । घरदैलो अभियानको क्रममा हेमजा पुगेकी पौडेलले त्यहाँका महिलाहरुसँग महिला अधिकारको मुद्दा आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताईन् । उनले महिलाहरुको अधिकार प्राप्तिपछि मात्रै सम्बृद्धि सम्भव भएको समेत बताईन् ।
‘नेपाली काँग्रेसले विकास र सम्बृद्धिको कुरा गरिरहँदा महिला अधिकारको कुरालाई पनि उत्तिकै महत्वपूर्ण साथ उठाईरहेको छ । र, म आफै पनि महिला उम्मेदवार भएको हिसाबले यो मुद्दालाई अझै बढि महत्वका साथ हेरेकी छु ।’ पौडेलले भनिन् ।
पौडेलले आफूलाई जिताउनका लागि काँग्रेसको रुख चिन्हमा भोट हाल्न त्यहाँका मतदाताहरुसँग आग्रह समेत गरिन् । उनले भनिन्–‘जसरी भोट माग्न अहिले घर घरमा आएकी छु । भोलीको दिनमा विकासको काम गर्न पनि म हजुरहरुको घरदैलोमा फेरि फर्कने छु ।’ उनले आफु पहिला सोहि क्षेत्रबाट निर्वाचित हुँदा पनि विकासका काम गरेकोले पुनः भोट दिएर विकासको गतिलाई अझै तिव्र बनाउन सहयोग गर्न हेमजाबासीलाई आग्रह गरिन् ।
