
बिग न्यूज
पोखरा, ७ मंसिर । काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका यज्ञबहादुर थापासहित सोहि क्षेत्रको प्रदेश ‘ख’मा उम्मेदवारी दिएका कृष्ण केसीले विहिबार सैमराङमा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । उनीहरुले त्यहाँका मतदातासँग काँग्रेसको पक्षमा भोट मागे ।
त्यो भन्दा अगाडि यज्ञबहादुर थापा र कृष्ण केसीको टोलीले माझठाना र कालिकामा सम्पर्क कार्यलय उद्घाटन गरेको थियो । सम्पर्क कार्यालय उद्घाटन गर्दै विकास र सम्बृद्धिको लागि काँग्रेसका उम्मेदवारहरुलाई जिताउन उनीहरुले अपील गरेका थिए ।
सम्पर्क कार्यालय उद्घाटन, घरदैलो कार्यक्रमसँगै थापा र केसी विहिबार नै मिजुरेको गहतेमा पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी सभालाई सम्बोधन गर्दै थापाले सो क्षेत्रको विकास चाहने सबैलाई काँग्रेसको पक्षमा भोट हाल्न अपील गरे । त्यस्तै केसीले पनि मिजुरे क्षेत्रको विकासका लागि आफु गम्भिर रहेको र निर्वाचित भएसँगै मिजुरेको विकासको गति अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने बताए ।
मिजुरेमा कोणसभासँगै साँस्कृतिक कार्यक्रम समेत भएको काँग्रेस कास्कीका जिल्ला सदस्य नविन सिग्देलले जानकारी दिए । थापा र केसीसँगै सो क्षेत्रमा काँग्रेसकी समानुपातिक उम्मेदवार रहेकी रसकुमारी गुरुङ पनि प्रचारमा हिँडिरहेकी छन् ।
परियारलाई जिताउन रुपा गाउँपालिकामा समिति गठन
कास्की क्षेत्र नम्बर १ प्रदेश ‘क’मा काँग्रेसबाट उम्मेदवारी दिएका जीवन परियार चुनावी प्रचारको क्रममा घरदैलोमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् । उनलाई जिताउन पार्टी पनि निकै सक्रिय रुपमा लागिरहेको छ ।
परियारको पक्षमा जीत निकाल्नका लागि संगठित भएर चुनावी अभियानलाई तिव्रता दिईरहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ । परियारको पक्षमा चुनावी प्रचार अभियानलाई तिव्रता दिनका लागि रुपा गाउँपालिकामा १ सय २१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ । रुपा गाउँपालिकाकै सक्रिय काँग्रेस नेता समेत रहेका बुद्धिबहादुर खड्काको सँयोजकत्वमा समिति गठन भएको हो ।
परियारलाई जिताउन पोखरा उपत्यका नगर विकास समितिका पुर्व अध्यक्ष प्रकाशमोहन खनाल, काँग्रेस कास्कीका जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ, स्थानिय नेताहरु बुद्धि मास्की, रामजी ढुंगाना लगाएतका नेताहरु लागिपरेका छन् । १२ हजार १ सय ७४ मतदाता रहेको रुपा गाउँपालिकामा ७० प्रतिशत मत आफ्नो पक्षमा रहेको काग्रेस नेताहरुको दाबी छ ।
