
बिग न्यूज
काठमाण्डौ, २६ मंसिर । पाटन जेसिजको अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । नेपालकै पुरानो शाखा मानिने पाटन जेसिजनको ३१ औँ अधिवेशन तथा ४७ औँ वार्षिक साधारणसभामार्फत उनी अध्यक्षमा चुनिएका हुन् ।
निर्विरोधन गठन भएको कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा मिजास चित्रकार, उपाध्यक्षमा इनिलज श्रेष्ठ, रोजिना थापा, रोनिस पराजुली र रेगन महर्जन चयन भएका छन् ।
त्यस्तै, जेसीसको परम्पराअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा जेसी डेजी नापीत, कोषाध्यक्षमा जेसी प्रकृति जोशी, सहसचिवमा जेसी विपिन बज्राचार्य र कानुनी सल्लाहकारमा जेसी निकेनमान प्रधानलाई मनोनित गरेका छन् ।सन् २०१७ अध्यक्ष जेसी श्रीजेश शिल्पकारको अध्यक्षतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति निर्वाचनको लागि प्रमुख निर्वाचन आयुक्तका रुपमा पूर्व अध्यक्ष राकेशभक्त मुल्मी रहेका थिए । अन्य निर्वाचन आयुक्तमा पूर्वअध्यक्षद्वय जेसी श्रीरेन्द्र शिल्पकार र जेसी रामु ताम्राकार थिए ।
प्रमुख अतिथिको रूपमा मन्तव्य दिदैँ जेसीआई सिनेटर जयदेव वैद्यले जेसीहरूले समाजको रुपान्तरणको लागि अझै लाग्नुपर्ने आवश्यकता औँल्याए । ‘पाटन जेसीज नेपालकै पुरानो जेसीज भएको कारणले गर्दा यसले जेसीजका राष्ट्रिय मुद्दाहरूमा समेत काम गर्नुपर्छ’, वैद्यले भने ।
प्रमुख अतिथी वैद्य पाटन जेसीजका पूर्वअध्यक्ष, नेपाल जेसीजको लागि सन् १९८१ को कार्यकालका राष्ट्रिय अध्यक्ष तथा सन् १९८२ का अन्तराष्ट्रिय उपाध्यक्ष समेत हुन् ।
सन् २०१८ को कार्यकाल सम्हाल्न लागेका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पाटन जेसीज अझै सशक्त भई अगाडि बढ्ने बताए । ‘पाटन जेसीजको संगठनलाई अझै मजबुत बनाई आर्थिक रुपले पनि बलियो बनाउँछु’, अध्यक्ष श्रेष्ठले भने ।
विभिन्न तालिमहरू मार्फत् संगठनका सदस्यहरूलाई व्यक्तित्व र नेतृत्व विकासको लागि तयार पार्ने योजना पनि उनले सुनाएका थिए । कार्यक्रममा पाटन जेसीजका पूर्वअध्यक्ष, सदस्य तथा विभिन्न शाखाहरूबाट आएका जेसीहरूको उपस्थिती रहेको थियो ।

