
प्रदेश ४ को मुख्यमन्त्रीमा गुरुङ र बरालको संभावना
पोखरा १६, पुस ।
जननेता मदन भण्डारीले भनेका थिए–‘राजनीतिमा थकाई भन्ने शव्दावली नै हुँदैन ।’ उनले भनेजस्तै थकाईको प्रवाह नै नगरी नेताहरु दौडधुपमैै व्यस्त छन् । चुनाबअघि सांसदको टिकट पाउन दौडधुप गरेका नेताहरुले टिकट पाएपछि चुनाब जित्न दौडधुप गरे । चुनाब जितेपछि पनि विजयी सांसदको दौडधुप कम भएको छैन । जनताबाट बधाई लिने र धन्यवाद दिने काम छोट्याएर सांसदहरु मन्त्री बन्ने दौडमा व्यस्त देखिन्छन् । प्रतिनिधीसभाका सांसदको दौड केन्द्रीय मन्त्री बन्नको लागि छ भने प्रदेशसभाका सांसदको प्रदेशको मन्त्री बन्नेतिर छ ।
मन्त्रीको आषमा राजधानीतिर दौडने सांसद भने अधिकांस वाम गठबन्धनकै छन् । कांग्रेसबाट विजयी हुने सांसदको दौडधुप भने वाम गठबन्धनका नेताको जस्तो छैन । किनकी, केन्द्र र प्रदेशमा पनि वामपन्थीकै बहुमत रहेको र सरकार बन्ने निश्चितजस्तै भएकोले उनीहरुको दौडधुप नभएको हो । जति दौडेपनि दौडनुको अर्थ छैन भन्ने कांग्रेसका सांसदलाई थाहै छ ।

देशैभरीका नेताहरु मन्त्रीको दौडमा रहँदा प्रदेश नम्बर ४ बाट मन्त्री को बन्लान् भन्ने प्रश्न र चर्चा पनि जताततै सुनिन्छ । यसबारे विभिन्न अनुमान पनि हुँदै आएका छन् । प्रदेशका मतदातालाई सकेसम्म आफैँले मत दिएको वा आफ्नै ठाउँकोे सांसद नै मन्त्री बनिदिए भन्ने चाहना बुझिन्छ ।
प्रदेश नम्बर ४ बाट प्रतिनिधीसभामा चुनाब जितेका सांसद अधिकांस वामगठबन्धनकै छन् । तिमध्ये स्वतन्त्र सांसद बाबुराम भट्टराईपछि राष्ट्रिय राजनीतिमा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङ सबैभन्दा हेभिवेट मानिन्छन् । प्रचण्ड सरकारमा नजाने र दोस्रो तहबाट सरकारको नेतृत्व गरेर जाँदा गुरुङकै नेतृत्वमा सरकारमा जाने सम्भावना रहन्छ । गुरुङपछि देवेन्द्र पौडेल र हरि अधिकारी मन्त्रीको वलिया दावेदार हुन् ।
एमालेका नेता खगराज अधिकारी, जगत विश्वकर्मा, रविन्द्र अधिकारी, पदम गिरी, केदार सिग्देललगायत पनि मन्त्रीको दौडमा छन् । प्रदेशबाट एक जनामात्रै मन्त्री हुँदापनि खगराज पहिलो दावेदार हुन् । समावेशीको प्रश्न आउँदा जगत विश्वकर्माको सम्भावना पनि उत्तिकै रहेको एमालेका नेताहरु बताउँछन् । त्यसैगरी स्याङ्जाबाट विजयी पद्मा अर्याल पनि मन्त्री बन्ने सम्भावना प्रवल रहेको स्रोत बताउँछ । एमालेका अध्यक्ष ओलीका विश्वास पात्र मानिने पर्वतका युवा नेता पदम गिरी पनि मन्त्री बन्ने प्रवल सम्भावना रहेको बताइन्छ ।
केन्द्रको मन्त्रीजत्तिकै प्रदेशकोे मुख्यमन्त्री र मन्त्री बन्ने दौड झनै रोचक छ । एमालेका नेता पृथ्वीसुव्वा गुरुङ र किरण गुरुङ मुुख्यमन्त्रीको दौडमा छन् । उनीहरुले चुनाबअघिदेखि नै आफूलाई मुख्यमन्त्री भनेर दावी र प्रचार गर्दै आएका छन् । एमालेबाट प्रदेशको मन्त्रीका आकांक्षी पनि धेरै छन् । कृृष्ण थापा, मनबहादुर गुरुङ, विकास लम्साल, रामशरण बस्नेत, मन्त्री बन्ने दौडधुपमा रहेका र सम्भावना बढि भएका नेता मानिन्छन् ।
भागवण्डा मिलाउँदा र एमाले पार्टीको आन्तरिक किचलो मथ्थर पार्न प्रदेश नम्बर ४ को मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) ले पाएमा कास्कीका पूर्वइन्चार्ज रामजी बराल बन्ने प्रवल सम्भावना रहेको माओवादीको उच्च स्रोत बताउँछ । मुख्यमन्त्रीका दावेदार मानिएका राजकाजी गुरुङ चुनाबमा पराजित भएपछि बराल निर्बिकल्प बनेका हुन् । प्रदेशको राजधानी कास्कीबाट चुनाब जितेका बराल कास्कीकै स्थानीय नेता हुन् । अर्का नेता दिपक कोइरालाले पनि सबैभन्दा पहिले आफूले मुख्यमन्त्री पाउने दावी गरेका थिए । उनको दावीलाई वाम गठबन्धनभित्रै उत्ताउलो अभिव्यक्ति भन्दै आलोचना भएको थियो । बराल जनयुद्धदेखि हालसम्म कोइरालाका पनि कमाण्डर अर्थात नेता हुन् । कास्की पार्टीमा बराल लाभको पद नखाएका निष्ठावान् नेता र प्रचण्डका विश्वासपात्र पनि मानिन्छन् ।
त्यसैगरी नेत्र अधिकारी, हरिबहादुर चुमान, दिपक चर्तिमगर, लगायत मन्त्रीका सम्भावित सांसद हुन् । समानुपातिक सांसद पनि मन्त्रीका आकांक्षी छन् । तनहुँबाट निर्वाचित आसा कोइराला र समानुपातिक सांसद मधु अधिकारी भने प्रदेश सभाका सभामुखका आकांक्षी रहेकोे स्रोतले बताएको छ । एमालेले मुख्यमन्त्री पाउदा माओबादीको भागमा सभामुख र अर्को मुख्य मन्त्रालय पर्ने बलियो संभावना देखिएकोले पनि अहिले माओबादी सांसदहरु मन्त्रीको दौडमा आ–आफ्ना निकट नेताहरु मार्फत केन्द्रमा लविङ्ग गरिरहेका छन ।

