
जुम्ला,३ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डाक्टर गोविन्द केसी काठमाडौं जानु भएको छ ।
डाक्टर केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं लगिएको हो । यसअघि डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने बताउनुभएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको थियो ।
अस्पताललाई प्रशासनले युद्धभूमिजस्तो बनाएको र अस्पतालमा धेरै क्षति भएकाले आफू काठमाडौं जान तयार भएको डाक्टर केसीले बताउनुभयो । अस्पतालमा आफ्ना समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै डाक्टर केसीले त्यसलाई रोक्न आफू काठमाडौं जान तयार भएको पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले अस्पताल परिसरबाट बाहिर निस्कने क्रममा भावुक हुँदै आफ्नो सत्याग्रह जहाँ भए पनि जारी रहने बताउनुभयो ।
डाक्टर केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड सुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
