सराङकोटमा निर्माणाधीन होटल अन्नपूर्ण भ्यूले वन र सार्वजनिक जग्गा मिचेको खुलासा

Share:

 पोखरा,१२ साउन । पोखरा–२४ सराङकोटमा निर्माणाधीन साढे १ अर्बभन्दा बढी रुपैयाँ लगानीको होटल अन्नपूर्ण भ्यू प्रालिले वन र सार्वजनिक जग्गा मिचेको पाइएको छ । जापानी र नेपाली लगानीमा निर्माणाधीन होटलले करिब ९ रोपनी जग्गा अतिक्रमण गरी विभिन्न संरचना बनाएको पुष्टि भएको छ ।

३७ रोपनी क्षेत्रफलमा फैलिउको होटेलले वन र बाटो मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला वन कार्यालयमा उजुरी परेको थियो ।होटलले सार्वजनिक जग्गा मिचेको ठहर गर्दै अख्तियारले अतिक्रमित जग्गा खाली गराउन प्रशासन कार्यालय कास्कीलाई पत्र पठायो । लगतै स्थानीय प्रशासनले ३५ दिनको म्यादसहित अतिक्रमित जग्गा खाली गर्न होटललाई पत्र दियो ।

म्याद सकिँदा पनि होटलले संरचना खाली गराउनै कुनै संकेत नगरेपछि प्रशासनले एक्सन लिएको हो । अतिक्रमित क्षेत्रका संरचना हटाउन प्रजिअ तारानाथ अधिकारीको अग्रसरतामा बसेको अख्तियार, पोखरा महानगरपालिका, वन, नापी, मालपोत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हेभी इक्विपमेन्ट कार्यालयका प्रमुख र प्रतिनिधिको बैठकले अतिक्रमित क्षेत्र खाली लगराउने र त्यसमा खर्च भएको रकम होटेलबाटै भराउने निर्णय गरेको छ ।

खाली गराउनु पर्ने अतिक्रमित जग्गामा रेजा लगाइएको छ । पोखरा महानगरपालिकाको नापी, वनका प्राविधिक, कानुन अधिकृत लगायतको टोलीले सराङकोटमा निर्माणाधीन होटलले मिचेको जग्गामा रेजा लगाएको हो ।

होटेलले पार्किङ, ट्रान्समिटर जेनेरेटर मेसिन घर, कम्पाउन वाल, पालेघर,स्टेडियम लगायत संरचनाले वनको जग्गा ४ रोपनी ३ आना मिचेको अख्तियारको ठहर छ । होटेलको उत्तरतर्फको वनकै जग्गा १ रोपनी १ आना र दक्षिणतर्फ सार्वजनिक बाटोको ३ रोपनी १० आना जग्गा अतिक्रमण भएको अख्तियारले जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: