
काठमाडौं,१० साउन । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।
इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएको छ’ मन्त्रालयका सहसचिव तथा इन्टरनेटको मूल्य समायोजनका लागि बनेको समितिका संयोजक विरेन्द्र मिश्रले भने, ‘बढेको मूल्य हट्यो । सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किनेछ ।’
सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले अघि सारेका थिए ।
