
१ भदौ ,काठमाडौं । नेपालमा शुक्रबारदेखि नयाँ कानून कार्यान्वयनमा आएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गरी कार्यान्वयनमा आएका नयाँ ऐनमा विदेशमा बस्ने नेपालीले पनि कानून उल्लंघन गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ ।
विदेशमा हुने नेपालीले नेपाली बिरुद्ध नै कसूर गरेमा देश भित्रै कसूर गरे सरह सजाय हुनेछ । मुलुकी अपराध संहिता ऐनमा नेपाली नागरिकले नेपाल बाहिरै नेपाली नागरिक बिरुद्ध कुनै कसूर गरेमा उसलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह सजाय हुने उल्लेख छ ।
विदेशमा कुनै नेपालीको ज्यान लिने या ज्यान लिने प्रयास गरेमा, असहाय व्यक्तिलाई परित्याग गरेमा तथा अङ्गभङ्ग हुनेगरी कुनै काम गरेमा कारबाही हुने छ ।त्यसैगरी विदेशमा बसेर नेपालीले नेपाली नागरिकलाई नै अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राख्ने, जवर्जस्ती करणी वा हाडनाता करणी गर्ने नेपालीलाई पनि नेपालमै कसूर गरेअनुसारको कारबाही हुनेछ ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्था बिरुद्ध आपराधिक उपद्रव, आपराधिक लाभ, आपराधिक विश्वासघात, कीर्ते, चोरी, ठगी, डाँका वा सम्पत्तिको आपराधिक उपयोग गरेमा पनि कारबाही हुने व्यवस्था ऐनमा गरिएको छ ।ऐनमा दफा १५८ अन्तर्गतको कसूर गर्नेलाई पनि कारबाही हुने उल्लेख छ । दफा १५८ मा धर्म परिवर्तन गराउन नहुने लेखिएको छ ।
विदेशमा नेपालीको स्वास्थ्य जाँच गर्दा हेलचेक्राईं भएमा पनि सजाय
विदेशमा कुनै नेपालीले अर्को नेपालीको स्वास्थ्य जाँच गर्दा हेलचेक्राईं या लापरबाही भयो भने पनि कारबाही हुनेछ । ऐनका दफा २३१, २३२ र २३३ अनुसार लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्ष कैद सजाय हुने भएको छ ।
त्यस्तै हेलचेक्राइँ गरेमा ३ वर्ष कैदको व्यवस्था छ । बदनियतपूर्वक उपचार गरेमा जन्मकैदसम्मको व्यवस्था गरिएको छ । बद्नियतपूर्वक उपचार गर्दा विरामिको मृत्यु भए वा अङ्गभङ्ग भए सोही अनुरुप कारबाही हुने उल्लेख छ ।
यस्तै म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।यसैगरी नेपालभित्र पैठारी गर्ने उद्देश्यले खाद्य पदार्थ वा औषधिमा मिसावट गरेको कसूरमा पनि कारबाही हुनेछ ।
विदेशमा बसेर नेपालीलाई गाली बेइज्जती गरेमा कारबाही
विदेशमा बसेर कुनै नेपालीर्ला गाली बेइज्जती गरेमा कारबाही हुनेकुरा कानुनमा उल्लेख छ । कसैलाई पनि गाली गरेको पाइएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै साजय हुने व्यवस्था कानुनमा उल्लेख छ ।
त्यसैगरी ऐनको दफा ३०६ मा विदेशमा बसेर बेइज्जती गर्ने नहुने कुरा उल्लेख गरिएको छ । यदी कसैले पनि त्यसो गरेको पाइएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।
धर्म परिवर्तन गर्नेलाई कारबाही
कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम, व्यवहार वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा अन्य कुनै पनि उपय अपनाइ कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले धर्म वा मत प्रचार गर्न नुहने व्यवस्था गरिएको छ ।विदेशमा बसेर त्यहाँका नेपालीको धर्म परिवर्तन गरेमा वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
विवाह सम्बन्धी कसूरमा पनि सजाय
विदेशमा नेपालीले नेपालीसँग विवाह गर्दा कानून विपरीत भयो भने पनि सजायको भागिदार हुनुपर्नेछ । ऐनको भाग २ परिच्छेद ११ अन्तर्गतका विवाह सम्बन्धी कसूरमा पनि सजाय हुने व्यवस्था छ ।परिच्छेद ११ मा विवाह सम्बन्धी कसूर राखिएको छ । यसमा मञ्जुरी बिना विवाह गर्न नहुने, हाडनातामा विवाह गर्न नहुने, विवाहमा लेनदेन गर्न नहुने वहुविवाह गर्न नहुने उल्लेख छ ।
नयाँ ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना गरिने ऐनमा उल्लेख छ ।मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ ।
बिहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । यस्तै पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख छ ।
SOURCE-UJYAALO ONLINE
