
अनुप पौडेल । १३ भदौ,पोखरा । गण्डकी प्रदेशलाई नेपाल कै पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । बुधबार पोखरामा सामाजिक विकास मन्त्रालयको आयोजनामा एक कार्यक्रम गरि प्रदेशलाई नेपाल कै पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रले गरेका काम भन्दा प्रदेशले गरेका कामहरु जनमुखी र सेवामुखी भएको बताए । उनले केन्द्रले प्रदेशलाई अधिकार विहिन बनाउन लाग्दा प्रदेश असफल भए केन्द्र असफल हुने भन्दै त्यसमा केन्द्रलाई ध्यान दिन सुझाव दिएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेशले पनि एकअर्का बीच तुलना गर्ने हुँदा सबै स्रोत साधन,इमान्दारिता,श्रम सिप प्रयोग गरेर अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश दोस्रो नभई पहिलो हुनेमा आफू प्रतिबद्वता ब्यक्त गरे ।
पूर्णखोप सुनिश्चित प्रदेश घोषणाको प्रतिबद्वता जनाएर हस्ताक्षर गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।।
सामाजिक विकास मन्त्रि नरदेवी पुनले गण्डकी प्रदेश सरकार मातृ मृत्युदर र बाल मृत्युदर घटाउन र प्रदेशका नागरिकलाई स्वस्थ बनाउन जिम्मेवार रहेको बताईन ।उनले थपिन,”स्वास्थ्यको महत्वलाई उजागर गर्दै प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय रहनुपर्छ भन्ने मागलाई हामीले अगाडी बढाएका छौ र मन्त्रिपरिषदबाट पास भएपछी संघिय सरकारमा पठाउछौ ।”
सामाजिक विकास मन्त्रालय स्वास्थ्य माहाशाखाका शाखा अधिकृत एक नारायण लम्सालले स्थानीय सरकार संचालन ऎन २०७४ अनुसार खोप सेवा व्यबस्थापन गर्ने दायित्व वडा समितिमा रहेको बताए । गण्डकी प्रदेशमा एक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,१७ वटा सरकारी अस्पताल,२५ वटा प्राथमिक स्वास्थ्य केन्द्र,४८७ वटा स्वास्थ्य चौकी,६२ वटा शहरी स्वास्थ्य केन्द्र र ८२ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन् । प्रदेशमा १७७० वटा गाउँघर क्लिनिक तथा ५९३९ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत सेवा प्रवाह भईरहेको छ ।
हाल नेपालमा एक जना बच्चालाई पुरा खोप लगाउँदा खोपको मात्रै पाँच हजार पर्छ र अन्य प्रशासनिक खर्च जोड्दा करिब तीस हजार लाग्ने तथ्यांकले देखाउँछ ।राष्ट्रिय खोप कार्यक्रमको तेस्रो बृहत बहुबर्षीय योजना २०१७-२०२१ ले नेपाललाई खोपबाट बचाउन सकिने र रोगहरुबाट मुक्त देश बनाउने परिकल्पना गरेको छ । प्रदेशले बनाएको खोप सेवा ऎन २०७५ ले राज्यले उपलब्ध गराउने सम्पुर्ण खोप पाउने हरेक बालबालिकाको जन्मसिद्द अधिकारलाई अनुभूत गरेको छ । गण्डकी प्रदेश सरकारले खोप कोष स्थापना गरी कोषमा एक करोड जम्मा गरिसकेको छ ।

