अवैध यौन धन्दालाई व्यवस्थित बनाउन लाग्नुपर्छ:मुख्यमन्त्री गुरुङ

Share:

२६ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बताएका छन् । अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोक्ने वा व्यवस्थित गर्न कार्ड सिस्टममा लैजाने विषयमा छलफल गर्नुपर्ने बताएका हुन् । ‘अहिले पनि यस्तो धन्दा चलिरहेकै छ । व्यवसाय भएकै छन् । पुलिसले समातेको छ । अनि पैसा तिर्ने छुट्ने काम भइरहेको छ भने अब यो बहसको विषय बन्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘बरु यसलाई व्यवस्थित गराउन लाग्नुर्पयो ।’ होटल संघ नेपालले पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौनधन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने बताए ।

‘त्यस्तो ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाउँछ । सरकालाई कर पनि तिर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीले यस्तो कामलाई व्यवस्थित गर्न नसक्ने तर त्यो काम गरिराख्ने । यसले कसैलाई फाइदा पुग्दैन ।’ यौन धन्दाको विषयमा खुला दिलले छलफल गर्ने बेला आएको मुख्यमन्त्री गुरुङले बताए । ‘पर्यटक अझै बढी आउने, व्यवसाय अझै फस्टाउने, समाज अझै एक खालको सभ्यता र शासन स्थापित हुँदै जान्छ,’ मुख्यमन्त्री गुरुङले भने । पोखरालाई २४ घण्टा नै खोल्नुपर्ने भन्दै पुरै पोखरा खोल्न नसके पनि बैदाम वा लेकसाइड क्षेत्र खोल्नुपर्ने बताए । ‘जनता सुत्छन्, कर्मचारी सुत्छन् राति, व्यवसायी सुत्न हुन्छ ? राज्य सुत्न हुन्छ ?’ मुख्यमन्त्री गुरुङले भने, ‘पुलिस सुत्नु भएन । सुरक्षा दिनुर्पयो ।’

आर्थिक चहलपहल बढाउने हो भने बजारलाई २४ सै घन्टा खुला राख्नुपर्ने गुरुङको धारणा छ । ‘भोलि अन्तर्रा्ष्ट्रिय उडान भयो भने कोही राति २ बजे पोखरा झर्ला । हाम्रो बाटो त्यस्तै छ १० बजे आइपुग्ने गरी गाडी चढेको मान्छे २ घन्टा ढिला हुन्छ के गर्ने ?’ उनले भने, ‘बजार २४ सै घन्टा खुला गर्न सुरक्षा प्रवन्ध मिलाउन प्रदेश सरकार तयार छ । किनभने प्रदेश प्रहरी अब हाम्रै हुन्छ ।’

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: