
असोज २। सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३र३ रुपैयाँ मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
मूल्य समायोजन भएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय १४ र डिजेल तथा मट्टीतेलको मूल्य समान १ सय १ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।
निगमले १० दिन अघि २० भदौमा मात्रै इन्धनको मूल्यमा भारी बृद्धि गरेको थियो । आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने देखिएकाले इन्धनको मुल्य बृद्धि गरिएको गोइतले दावी गरे।
पुरानो मूल्य अनुसार आयल निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ। गोइतका अनुसार मूल्य वढाएपछि पनि निगमलाई मासिक नोक्सान ५० करोड भन्दा धेरै छ।
