
पोखरा । अब पालिखेचोक फराकिलो हुने भएको छ । भत्काइएका घरहरु महानगरपालिको चाँडै पन्छाएर भने साँघुरो पालिखेचोक अब फराकिलो हुनेछ ।
चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु दुई महिना अघिदेखि भत्काउन सुरु गरिएको हो। वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । ओजोन बुक्स रहेको घर आज भत्काइएको हो ।

वडा नम्बर ३ अन्तर्गत पालिखेचोकको सडक मापदण्डभित्र परेका र नयाँ घर बनाउनसमेत नमिल्ने जग्गामा रहेको घर भत्काउन यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो । लामो समयदेखि विवादित रहेको पालिखेचोकका घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।
साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । ४ दशकअघि नै तत्कालीन अञ्चलाधीश शंकर पाठकले पनि ती घर भत्काएर सडक फराकिलो बनाउन खोजेको जानकार बताउँछन् । स्थानीयको बिरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।

पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे ।

तस्विरः राज गुरुङ, रविन्सन प्रजु
