
बिग न्यूज
पोखरा, २८ असोज । लमजुङ ८ राइनास हर्राबोटस्थित सर्वोदय सेवाश्रममा रहेका वृद्धवृद्धाहरुलाई पोखराका केहि सामाजिक सेवामा आबद्ध रहेका युवाहरुको समूहले खाद्यान्न सहित लत्ताकपडा वितरण गरेका छन् ।
पोखराबाट हर्राबोटसम्म पुगेर १० जना युवाहरुको समूहले व्यक्तिगत रुपमा खर्च संकलन गरेर सहयोग उपलब्ध गराएका हुन् । दशैँको मौका पारेर उनीहरुले वृद्धवृद्धाहरुलाई सहयोग उपलब्ध गराएको बताएका छन् । ‘घरभन्दा टाढा आश्रममा बसेका वृद्धवृद्धाहरुका लागि दशैँ खल्लो नहोस् र उनीहरुको चाडवाडलाई विशेष बनाउन हाम्रो पनि केहि योगदान होस् भनेर हामीले सहयोग गरेका हौँ ।’ समूहका एक सदस्य प्रविण पोखरेलले भने–‘यसो गर्दा हामी सबैजनाले निकै आनन्दको महशुस पनि गरेका छौँ ।’
पोखराबाट राइनास पुगेको टोलीले वृद्धवृद्धाहरुका लागि भनेर चामल, नुन, तेल, आलु, साबुन, बिस्कुट, फलफूल, चिनी, चियापत्ति र जाडोमा लगाउने लत्ताकपडा लिएर गएका थिए ।
सेवाश्रमका अध्यक्ष कृष्णराज वालियाले सहयोग गर्न आएका युवाहरुको समूहलाई विशेष धन्यबाद दिए । उनले परिवारबाट बहिस्कारमा परेका वृद्धवृद्धालाई युवाहरुको समूहले यस्तो खाले शदासयता देखाएर प्रशंसनीय काम गरेको प्रतिक्रिया दिए । उनले आफूहरुले यस्तै सहयोगी मनहरुकै सहयोगका कारणले सेवाश्रमका वृद्धवृद्धाहरुलाई सुविधासम्पन्न हिसाबले राख्न सफल भएको बताए ।
हाल सेवाश्रममा १२ जना वृद्धवृद्धाहरु बस्दै आएका छन् । ७ वर्षदेखि संचालनमा आएको सेवाश्रममा रहेका वृद्धवृद्धाहरुको खानपिन र स्वास्थ्योपचारको व्यवस्था पनि व्यवस्थापन पक्षले गर्दै आएको छ ।
