
९ मंसिर,लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–८, डुँड्कुलामा मिनि ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बा २ क १९७६ नम्बरको मिनि ट्रकको ठक्करबाट सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी ६ वर्षीया करुणा गिरीको घटनास्थलमै ज्यान गएको हो ।
प्रहरीका अनुसार घटना आइतबार दिउँसो पौने २ बजे भएको हो । प्रहरीले मिनि ट्रक र चालक धादिङ भोला गाउँपालिकाका मानबहादुर बिकलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । डुँड्कुला डुम्रे–बेसीशहर सडकखण्डमा पर्छ । केशव गिरी र लक्ष्मी गिरीकी छोरी करुणा गिरी स्थानीय भूपू सैनिक आवासीय माविमा यूकेजी पढ्थिन् । मृतक करुणाको बुवा केशव गिरी नेपाली सेनामा कार्यरत छन् ।
