हिंसाको चेतना बढोस : मुख्यमन्त्री गुरुङ

503
0
Share:

मंसिर १०, पोखरा । लैङ्गिक हिंसा न्यूनीकरण गर्न पहिले हिंसा सम्बन्धिको साक्षरता बढ्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । शुक्रबार देखि सुरु भएको लैङ्गिक हिंसासम्बन्धिको १६ दिने अभियान अन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभामा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङले हिंसासम्बन्धिको साक्षरता कम भएकै कारण हिंसाको तथ्यांक कम देखिएको बताए । नेपालको सन्दर्भमा हिंसासम्बन्धि घटना कम देखिनुमा उनले २ वटा कारण रहेको बताए । ‘पहिलो कुरा त हामीले हिंसाको परिभाषा बुझेकै छैनौँ, लैङ्गिक हिंसा भनेको यौन हिंसा मात्र होईन, सामाजिक, आर्थिक, मनोवैज्ञानिक लगायतका हिंसा पनि यसमा पर्छन, अर्को कुरा हामीले हिंसा भएको भनेर भन्न पनि सक्दैनौँ, यसले गर्दा हिंसा कम देखिएको छ, हिंसाको परिभाषा बुझेर बोल्न सकेको खण्डमा मात्र वास्तविक तथ्यांक आउन सक्छ ।’ उनले भने, ‘हिंसा न्यूनीकरणमा नेपाल सरकारले विभिन्न महासन्धि, सन्धिहरुमा प्रतिबद्धता जनाएको छ, उक्त प्रतिबद्धता पुरा गर्न गण्डकी सरकार पनि प्रतिबद्ध रहेको छ ।’ मुख्यमन्त्री गुरुङले हिंसा न्यूनीकरण गर्न सम्बद्ध निकाय र राज्यपक्ष व्यापक रुपमा लाग्नुपर्ने बताए । ‘अहिले नै यसको अन्त्य गर्न त सकिँदैन, हामीले यसको न्यूनीकरण गर्न कार्यक्रम बनाउँदा विशेष ध्यान दिनेछौँ ।’ उनको भनाई थियो ।
यस्तै, उनले हालको प्रदेश नं. ७ मा तत्कालीन एमालेनिकट महिला संघले गरेको कार्यक्रमलाई स्मरण गर्दै तीनवटा साहसी महिलाको उदाहरण समेत दिँदै हिंसा न्यूनीकरणको वास्तविक नेतृहरु भएको बताए । ‘अहिलेका नेतृहरु १०÷१५ वर्ष भाषण गरेर आउनुभएको हो, वास्तविक नेताहरु, क्रान्ति गर्ने उनीहरु हुन् ।’ उनको भनाई थियो । सोही कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले महिललाई आर्थिक रुपमा सक्षम बनाउन सके पनि लैङ्गिक हिंसामा कमी आउने बताईन् । उनले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु पर्नेमा जोड दिईन । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हिंसा न्यूनीकरणमा नीतिगत तहबाटै लाग्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा उपसभामुख सिर्जना शर्मा, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशसभा सदस्यहरु विष्णुप्रसाद लामिछाने, पुष्पा केसी भण्डारी लगायतले हिंसाको प्रकृतिको बारेमा जानकारी दिने र ती विभिन्न प्रकृतिका हिंसाबाट पर्ने असरको प्रभावको बारेमा बहस हुन आवश्यक रहेको बताएका थिए । उनीहरुले हिंसा न्यूनीकरणमा सामाजिक चेतना बढ्नुपर्ने तर्क समेत राखेका थिए । प्रदेशसभाका सचिवालय शम्भु बहादुर खड्का, युएन प्रतिनिधी जेन प्याट्री, नेपाल प्रतिनिधी सुदिप अर्याल लगायतले कार्यक्रमको विषयमा धारणा राखेका थिए । उनीहरुले महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा सबै लाग्नुपर्ने धारणा राखे ।
हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । ‘सुन्तला रङले संसारलाई रङ्गाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: