
२७ मंसिर,पोखरा । स्मार्ट शहर बनाउने लक्ष्य लिइएको पर्यटकीय शहर पोखराका सडकका पोलमा रहेका अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । पोलमा राखिएका अनावश्यक तारहरुकै करण सहर कुरुप हुनुका साथै दुर्घटना समेत बढेकाले महानगरले ४० दिने अभियान बिहीबारबाट सुरु गरेको हो । पोखराको सिद्धार्थचोकबाट अव्यवस्थित तार हटाउने काम विहीबारदेखि सुरु भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केवल व्यवसायीको साथमा तार व्यवस्थापन गर्ने काम सुरु गरेको हो ।
महानगरभित्र विभिन्न सेवा प्रदायक संस्थाहरुले एउटै पोलबाट धेरै तारहरु वितरण गर्दा पोखरामा दुर्घटना पनि बढेको देखिन्थ्यो । यसले महानगरबासीलाई मात्र नभई पोखरा आउँने पर्यटकमा पनि त्रास उत्पन्न गराएको थियो । महानगरले सुचना प्रकाशित गरेपछि नेपाल टेलिकम,नेपाल विद्युत प्राधिरण, एनसेल सहित बाराही इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केवल,वल्र्ड्लिंक कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसँगको मंगलबार भएको बैठकले तार व्यवस्थापन सहजिकरण समिति गठन गरेको थियो । महानगरका प्रमुख मानबहादुर जिसीले सिद्धार्थचोकमा बिहान एक कार्यक्रमका बीच अभियानको उद्घाटन समेत गरेका छन् । उनले पोखरालाई सुन्दर बनाउन यो अभियान आवश्यक रहेको र सबैको साथ मिल्ने अपेक्षा गरे ।
महानगरले पहिलो चरणमा सिद्धार्थ चोक, विपी चोक, न्यूरोड,सभागृह चोकको तार व्यवस्थित गर्ने भएको छ । त्यस्तै दोश्रो चरणमा विपीचोक, साँघुको मुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक र तेस्रो चरणमा सभागृहचोक, सृजनाचोक, जिरो किमी, हल्लनचोक र चौथो चरणमा हल्लनचोक, सहिदचोक, मुस्ताङचोक सम्मका पोलका तारलाई व्यवस्थित गर्ने गरि कार्ययोजना बनाएर काम सुरु गरिने भएको छ ।
