
२८ मंसिर,गोरखा । गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको देखिएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा पुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पार्ने निष्कर्ष अध्ययनले निकालेको छ । त्यस्तै अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको,फोहर राख्ने भाँडामा चिन्ह नलेखिएको,कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका निर्देशक महेश नकर्मीले बताएका छन् ।
गोरखा अस्पतालबाट दैनिक करीब ५० किलो फोहर निस्किने भए पनि त्यसको उचित व्यवस्थापन गर्न अस्पताल असफल भएको उनको भनाई छ । उनले अस्पतालबाट निस्कने फोहरको न्यूनीकरणमात्रै नभएर व्यवस्थापन पनि राम्रो हुनुपर्नेमा जोड दिए ।
