
२९ मंसिर, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ५ वर्षभित्र प्रदेश सरकार शक्तिशाली बन्ने उद्घोष गरेका छन् । उनले भने, ‘५ वर्षभित्र प्रदेश सरकार शक्तिशाली बनेन भने संघीयता नै असफल हुन्छ, तर यसलाई असफल बनाउन कसैले पनि सक्दैन, असफल बनाउने छुट पनि छैन र असफल बनाउने कसैले हिम्मत पनि गर्दैन ।’
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बराललाई सपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले बराललाई आफूले नीति तथा योजना आयोगको सदस्य नियुक्त गर्दा तत्कालिन राजा महेन्द्र सम्झेर नियुक्त गरेको बताए । बराल चार महिनाअघि सदस्यमा नियुक्त भएका हुन् । उनलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलले सपथ गराएका थिए । गुरुङले भने,‘मैले योजना आयोगको सदस्य नियुक्त गर्दा तत्कालिन राजा महेन्द्र सम्झेर गरेको हुँ, त्यत्तिकै कामको अपेक्षा पनि गरेको छु ।’
मुख्यमन्त्री गुरुङले प्रदेशको नीति तथा योजना आयोगलाई प्रदेश योजना आयोग मात्र बनाउनुपर्ने धारणा समेत राखे । उनले भने, ‘प्रदेशले नीति बनाउने होइन,यो संघीय सरकारको काम हो,हामीले त योजना मात्रै बनाउने हो,त्यसैले नीति हटाएर प्रदेश योजना आयोग मात्रै बनाउनुपर्छ ।’ उनले योजना बनाउने हिसाबले ७ प्रदेशमध्ये गण्डकी प्रदेश सबैभन्दा अब्बल रहेको दाबी गरे । त्यतिञ्जेलसम्म पनि प्रदेश सरकार शक्तिशाली नबने संघीयता नै असफल हुने चेतावनी दिए ।
FILE PHOTO
