बागलुङमा तीन सडकलाई सङ्घीय सरकारको चार करोड बजेट

Share:

१ पुस,बागलुङ । बागलुङका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले चार करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बागलुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि दुई करोड बजेट विनियोजन भएकोे क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले जानकारी दिए ।

काठेखोला गाउँपालिकाको बिहुँ अछेतेदेखि म्याग्दीको सिमसम्मको सडकका लागि एक करोड र बागलुङ, चापाखर्क, बरेङ सडकखण्डको लागि एक करोड विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । तीनवटै सडकको स्तरोन्नतिका लागि विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको प्रतिनिधिसभा सदस्य पाठकले बताए । एउटा क्षेत्रमा दुई बाटोमा रकम विनियोजन हुँदै आए पनि जनताको मागअनुसार तीन वटा सडकमा रकम छुट्याइएको छ ।

तीनवटै सडक सर्वसाधारणको प्रत्यक्ष जनजीविकासँग जोडिएका सडक भएकाले बहुवर्षे योजना बनाएर स्तरोन्नतिको काम थाल्ने पाठकको भनाई छ । बागलुङको क्षेत्र नं १ मा पर्ने तिनै सडकको स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले छुट्याएको बजेटको विषयमा जानकारी आएको भए पनि क्षेत्र नं २ का रणनीतिक सडकको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: