मनाङ पुग्ने पर्यटकको संख्या बढ्यो,यस वर्ष साढे २८ हजार पर्यटक भित्रिए

Share:

पुस ५,मनाङ ।  यस वर्ष अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्या बढेको छ । पदमार्गमा जाने पर्यटकको तथ्यांक लिन थालिएको २२ वर्षको अवधिमा सबैभन्दा बढी पर्यटक सन् २०१८ मा मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । यस वर्ष २८ हजार ५३४ जना विदेशी पर्यटक भित्रिएका तथ्यांक छ । यस वर्ष दैनिक ३६० भन्दा बढी पर्यटक भित्रिएको थिए । सन् २०१७ मा २७ हजार ६८ जना पर्यटकले चक्रीय अन्नपर्ण पदमार्गको भ्रमण गरेका थिए ।

यस वर्षको जाडोको सिजन सुरु हुँदा समेत दैनिक ४० देखि ६० जना पर्यटक भित्रिएको धारापानी चेकपोष्टले जनाएको छ । चिसोले पर्यटक घट्दै गए पनि अझै एक हजार पर्यटक आगमन हुने अन्नपूर्ण संरक्षण क्षेत्रको आँकलन छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका कर्मचारी प्रशान्त गुरुङका अनुसार यस वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा आएका छन् । यस महिना सात हजार १६३ जना भित्रिएका थिए ।

नोभेम्बरमा चार हजार ३८० र सेप्टेम्बरमा दुई हजार ८५६ जना पर्यटक भित्रिएका छन्। गत वर्षको अक्टोबरमा छ हजार ६७४ जना, नोभेम्बरमा चार हजार ३३८ जना र सेप्टेम्बरमा दुई हजार ६२० जना पर्यटक भित्रिएका थिए। गत वर्ष डिसेम्बरबाहेक ११ महिनामा २६ हजार २०५ जना विदेशी पर्यटक भित्रिएका थिए। गत वर्षको तुलनामा यस वर्षको ११ महिनामा दुई हजार ३२९ जना बढी पर्यटक गएका छन ।

कमेन्ट गर्नुहोस्
Share: