विवेकशील साझा : जिल्लामा छैन फुटको असर

Share:

रेम बिक
पोखरा, २९ पुस । विवेकशील साझा पार्टीका सँयोजकमध्येका एक उज्जल थापासहित केहि केन्द्रीय सदस्यहरुले पार्टी छोडेको भन्दै बखुण्डोलको पार्टी कार्यालयमा पत्रकार भेटघाट चलिरहेको थियो । विधिवत रुपमा उज्जवल थापाहरुले पार्टी छाडेको जानकारी अर्का सँयोजक रवीन्द्र मिश्रले गराउँदै थिए ।

यसले वैकल्पिक शक्ति निर्माणको अभियानमा केहि असर गरेको प्रतिक्रिया दिए उनले । यद्यपी यता कास्कीमा भने सोहि समयमा विवेकशील साझा पार्टीका सदस्यहरु अर्कै कार्यक्रममा व्यस्त थिए ।

विवेकशील साझा पार्टी फुटको असर जिल्लास्तरमा भने देखिएन । कास्कीका विवेकशील साझा पार्टीका सदस्यहरु केन्द्रमा पार्टी टुक्रिरहँदा पनि आपसमा मिलेर अन्तरक्रियामा सहभागी भैरहेका थिए । उनीहरु सूचनाको हक सम्बन्धि तालिममा सहभागि भएर सो विषयमा जानकारी लिईरहेका थिए । डा. एन. डी. सुवेदीले विवेकशील साझा पार्टी कास्कीका सदस्यहरुलाई सूचनाको हक र प्राप्त गर्ने तरिका सिकाउँदै थिए ।

कार्यक्रममा विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारी समेत सहभागी भए । उनले जिल्लास्तरबाट गरिएको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउन सल्लाह दिए । साथै उनले वैकल्पिक राजनीतिको यात्रामा दृढ भएर अगाडि बढ्न सबै सदस्यहरुलाई हौसला प्रदान गरे ।

आफ्ना सदस्यहरुलाई हरेक तवरले सक्रृय बनाईराख्नका लागि विवेकशील साझा पार्टी कास्कीले हरेक शनिबार यस्तै तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने जनाएको छ । प्रत्येक शनिबार नयाँ नयाँ विषयमा अन्तरक्रिया तथा अभियान संचालन गर्नका लागि पार्टीले दीपक पौडेललाई कार्यक्रम सँयोजकको रुपमा चुनेको छ ।

‘हामीले यो अभियानलाई निरन्तरता दिन कुनै हालतमा चुक्नेछैनौँ ।’ कार्यक्रम सँयोजक दीपक पौडेलले भने–‘पार्टीले बनाउने वार्षिक क्यालेन्डर मै हरेक शनिबार हुने कार्यक्रमको जानकारी गराउने गरि हामीले काम थालेका छौँ ।’ उनले यस्ता कार्यक्रमले पार्टी सदस्यमा उर्जा भर्ने भएकोले आफूहरुले यसलाई विशेष स्थान दिएको प्रस्ट्याए ।

साथै विवेकशील साझा पार्टी कास्कीका सदस्यहरुले जिल्लास्तरमा फुटको कुनै असर नरहेको सन्देश समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: