
११ माघ,पोखरा । वर्तमान सरकार विरुद्ध नेपाल तरुण दल गण्डकी प्रदेशले शुक्रबार पोखरामा विरोध प्रदर्शन गरेको छ । भ्रष्टाचार,कर आतंक,निर्मला पन्त हत्यारा पत्ता लगाउन नसकेको विरुद्धमा वृहत प्रदर्शन गरिएको नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । सरकार विरुद्ध गरिएको प्रदर्शनमा जिल्लाका पार्टीका पदाधिकारी,कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि,भातृ संस्थाका कार्यकर्ता,प्रदेश अन्तर्गत विभिन्न जिल्लाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।
प्रदर्शनमा सहभागिहरुले ‘भ्रष्टचारीलाई कारवाही गर, निर्मला पन्तको बलात्कारीलाई कारवाही गर,वाइडबडी घोटला सार्वजनिक गर’ जस्ता नारा लगाएका थिए। अध्यक्ष गुरुङले नेकपाको सरकारलाई नागरिकका हक अधिकारप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् । प्रदर्शनमा तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत पनि सहभागी रहेका थिए । ७ वटै प्रदेशमा हुने विरोध कार्यक्रम अन्तरगत पोखरामा पनि कार्यक्रम गरिएको हो ।


