
बिग न्यूज
पोखरा, १२ माघ । मिस तामाङको पछिल्लो सँस्करणको फाइनल आज हुँदैछ । ल्होसार म्यूजिकल फेस्टिभलको अवसर पारेर आयोजक बैदाम तामाङ समाजले आयोजना गरेको यो इभेन्टलाई लिएर अड्कलबाजी भने शुरु भैसकेको छ ।
२८५५ औ सोनाम ल्होसारको अवसरसँगै आज हुने कार्यक्रममार्फत तामाङ समुदायले एउटा ‘मिस तामाङ’ पनि पाउनेछ । आफ्नो सँस्कृतिलाई बचाउँदै त्यसको जगेर्ना गर्ने उद्देश्यसहित यो कार्यक्रम हुन लागेको आयोजकले बताएको छ ।
प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरु प्रतिस्पर्धीका रुपमा सहभागी छन् । सहभागीहरुमा काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, विरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् ।
प्रतियोगीहरुलाई बिभिन्न तालिमहरु प्रदान गरिएको आयोजकले जनाएको छ । तालिममा नेपाली चलचित्रका महानायक राजेश हमाल, कलाकारहरु सन्दिप क्षेत्री, हरिहर अधिकारी, जिपी तिमिल्सिनाले सहजीकरण गरेका थिए । यसैगरि गायक राजु लामा, गायिका तृष्णा गुरुङ्ग लगायतले समेत तालिम प्रदान गरेका थिए ।
तालिममा प्रतियोगीहरुलाई तामाङ्ग भाषा, संस्कार, परम्परा, वेशभुषा, रहनसहन तथा धर्मका विषयमा सिकाईएको थियो । त्यो सँगै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिईन् ।
मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद १५ हजारले पुरस्कार समेत प्राप्त गर्नेछन ।
