
बिग न्यूज
पोखरा, १२ माघ । दशौँ वर्षसम्म आईपुग्दा नेपालभरमा ‘इ–सेवा’का ७५ हजार सेवाग्राही पुगेका छन् । यो बीचमा ४५ हजारवटा एजेन्ट नेटवर्क कम्पनीले विस्तार गरिसकेको छ । सेवा सुचारु गरेको १० औँ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा यस्ता जानकारी दिईएको हो ।
कम्पनीले दिएको जानकारीअनुसार मोबाइलमा ‘इ–सेवा’को एप्लिकेशन डाउनलोड गर्नेको संख्या १० लाख नाघिसकेको छ ।
‘इ–सेवा फोन पे प्रा.लि’ नेपालको पहिलो भुक्तानी सेवा प्रदायक संस्था हो । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको कम्पनीले जनाएको छ । ‘मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इ–सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ ।’ जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
इ–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इ-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
