युवा ज्योतिष नवनायक हरिहर अधिकारी ‘विवेकशील साझा पार्टी’ मा

Share:

पोखरा, १९ माघ । चर्चित युवा ज्योतिष एवं नवनायक हरिहर अधिकारी विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । हालसम्म स्वन्तत्र रुपमा मताधिकार प्रयोग गर्दै आएका उनले आज विवेकशील साझामा औपचारिक पार्टी सदस्यता लिएका हुन् ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उनलाई पार्टी कार्यालय प्रांगणमै पार्टी सदस्यतापत्र हस्तान्तरण गरे । निकै सोच विचार तथा भविष्यको समेत विश्लेषण गरेर कदम अघि बढाउने अधिकारीको प्रवेशलाई पार्टीले उच्च महत्व दिएको छ । दुई साता अघि मात्रै चर्चित व्यक्तित्व विकल शेरचन पार्टीमा प्रवेश गरेका थिए ।

संयोजक मिश्रले स्थापित व्यक्तित्वहरुको पार्टीप्रतिको सकारात्मक धारणा र साथ समर्थनले उर्जा थपिएको बताए । पार्टीका गण्डकी संयोजक महेश भण्डारीले युवाहरुका आइडल, ज्योतिष क्षेत्रका हस्ती पार्टीमा प्रवेश हुनु अत्यन्त खुशीको कुरा भएको उल्लेख गरे ।

एशियाली महादेश स्तरका थुप्रै अवार्ड उनले प्राप्त गरिसकेका छन् । एशियन एस्ट्रोलोजर कँग्रेसको आयोजनामा इन्डोनेसियाको बालीमा भएको १८ औँ सम्मेलनमा ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड प्राप्त गरेका थिए । यो अवार्ड पाउने हरिहर नेपालका पहिलो ज्योतीष हुन् ।

ज्योतिषलाई नयाँ शैलीमा प्रस्तुत गरेकै कारण अधिकारीले त्यसअघि श्रीलंकामा आयोजित कार्यक्रममा ‘बेस्ट एस्ट्रोलोजर अफ नेपाल २०१५’ अवार्ड पाए । यस्तै, दुबईमा सम्पन्न ज्योतिष भेलामा’ बेस्ट एस्ट्रोलर अफ एसिया’ को पुरस्कारले सम्मानित भएका थिए । तीन वर्ष अघि भारतमा उनले ‘म्यान अफ दि इयर इन एस्ट्रोलोजी’ लगायत थुप्रै सम्मान पाएका थिए ।

अधिकारी पोखराको बिग एफएमका अफिसियल एष्ट्रोलोजर समेत हुन् । हरेक भ्यालेन्टाइन डेमा उनले उत्कृष्ट भ्यालेन्टाइन कपल छान्छन् । विज्ञान विषय पढ्दा–पढ्दै नौ वर्षअघि ज्योतिष क्षेत्रमा प्रवेश गरेका हरिहरले नेसनल टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले हिमालय टेलिभिजन, रेडियो अडियो, क्लासिक एफएम, कान्तिपुर एफएम, भक्ति दर्शन टेलिभिजन हुँदै कान्तिपुर टेलिभिजनमा पुगेर ज्योतिषशास्त्रलाई आमजनतामाझ पु¥याए । उनको मार्गदर्शन टिभी शो ब्राण्ड बनेको छ ।

सामाजिक सञ्जालमा उनका हजारौं फलोअर छन् । यही लोकप्रियता र ज्योतिषको विज्ञानसम्मत विश्लेषणका कारण अधिकारीलाई भारतको प्रसिद्ध टेलिभिजन केयर वल्र्डले ज्योतिषसम्बन्धी कार्यक्रमका लागि अनुबन्धन समेत गरेको थियो । ज्योतिष अधिकारीको पहिलो फिल्म शुभलभ चैतदेखि प्रदर्शनमा आउँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: