दुई दृष्टिविहिन जोडीलाई डिसोफको सहयोग

Share:

१९ माघ,पोखरा । बेल्जियम बस्दै आएका प्रवासी नेपालीहरुको समुहले पोखराका दुई दृष्टिविहिन जोडीलाई आर्थिक सहयोग गरेको छ । डिसाबिलिटी इन्टरनेशनल सोलिडारिटी फाउन्डेसन (डिसोफ) नामक संस्थाले प्रति जोडी रु १५ हजारको दरले सहयोग गरेको हो । पोखरा-१६ बाटुलेचौर बस्दै आएका अभी चौधरी र असिम लिम्बुसंगै पोखरा-१७ बिरौटा बस्दै आएका मंगल प्रसाद चौधरी र सम्झना चौधरीलाई संस्थाले सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष कृष्ण तिलिजा पुनले उनीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै उनले आफु र आफ्नो संस्था सधै अशक्तहरुलाई सहयोग गर्न क्रियाशील रहने प्रतिबद्दता व्यक्त गरे । तर ६ वर्षको उमेरमा आँखाको ज्योती गुमाएका अभीले भने सरकारले अशक्तहरुलाई अझै प्राथमिकता दिन नसकेको गुनासो गरे । उनले सार्वजानिक सवारीका सिट देखि सडकसम्मका संरचना अपाङ्गमैत्री नभएको बताए ।

त्यस्तै उनकी श्रीमती असिमले पनि शारीरिक रुपमा अशक्त रहेकाहरुलाई सरकारले अझै प्राथमिकता दिनुपर्ने बताईन । पोखरा बस्दै आएका नर बहादुर पुन,सरु पुन,सुष्मा हमाल,सुनिल पुन,अर्भिल गुरुङ,प्रेम पुन,टक बहादुर पुन लगायत सहयोग रकम हस्तान्तरण गर्न पुगेका थिए । यसअघि उक्त संस्थाले तनहुँकी कमला थापालाई रु ४० हजार सहयोग गरेको थियो । रोजगारीको शिलशिलामा बेल्जियम पुगेका नेपालीहरुले सन् २०१६ मा उक्त संस्थाको स्थापना गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: