
फागुन १०, पोखरा । पोखरामा जारी १७ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा हिमालय शेर्पा क्लबले विजयी शुरुवात गरेको छ । शुक्रबार भएको अन्तिम प्रिक्वार्टरफाइनलमा धरान फुटबल क्लबलाई १-० ले हराउँदै हिमालयन शेर्पाले पहिलो जित दर्ता गरेको हो ।
हिमालयनका त्रिदेव गुरुङले ७७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। विदेशी खेलाडी प्याट्रिक प्रिभट गोहाको लामो क्रस बलमा त्रिदेवले सजिलै गोल गरेका थिए । खेलमा दुबै टोलीले खासै राम्रा मुभहरु बनाउन नसके पनि हिमालयन शेर्पाको तुलनामा धरानले दवावमा खेलेको थियो ।
अट्याकिङ रणनीतिमा खेलेको हिमालयन शेर्पाले खेलको शुरुवातमै पाएको अवसरलाई खेर फाल्यो । खेल शुरु भएको दोस्रो मिनेटमै डि एरियाभित्रबाट त्रिदेव गुरुङले विपक्षी डिफेण्डरलाई छक्याएर प्रहार गरेको बल माथिल्लो बार हुँदै आकासिएको थियो । खेलको दोस्रो हाफपछि प्राप्त अवसरलाई पूर्र्णबहादुर गुरुङ गोल गर्नबाट चुके ।
दायाँ भागबाट त्रिदेवले मिलाइदिएको क्रस बललाई विपक्षी कीपर बिनयसँगको वान भर्सेज वानको अवस्थामा डि एरियाभित्र रहेका पूर्णले गरेको हल्का भली बललाई कीपर विनयले सजिलै पञ्च गरी फर्काएका थिए । हिमालयन शेर्पाका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे । शुक्रबारको यो खेलसँगै प्रतियोगिताको प्रि–क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएको छ ।शनिबार, सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपीएफबीच पहिलो क्वार्टरफाइनल खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

