
पोखरा पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको झण्डै एक महिना पुग्न लाग्यो । सरकारले तोकेभन्दा लाखौं बढी असुलेको कलेज प्रशासन विरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएको विद्यार्थीहरु केही सप नलागेपछि रिले अनसनमा उत्रिए । मेडिकल कलेजमा तालाबन्दी पनि गरियो ।
कलेज प्रशासनले विदाथीृको माग पूरा गर्नु त कता हो कता ? उल्टै प्रहरी प्रशासनको आडमा विद्यार्थीमाथि दमनमा उत्रिएको छ । प्रकाशन निकम्मा भएको छ । प्रहरी विद्यार्थीमाथि नै जाइलागेका छन् । माग पूरा हुने छाँटकाँट छैन । सात दर्जन विद्यार्थीहरुको परीक्षा समेत छुटिसक्यो ।
सरकारले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै झण्डैं १ महिनादेखि आन्दोलित विद्यार्थीले लगाएको ताला जिल्ला प्रशासन कास्कीको आदेशमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएका डिएसपी कोमल शाह नेतृत्व टोलीले खुलाएको हो।
शिक्षण शुल्कको नाममा असुली गर्दै आइरहेको कलेजले नियामक भनिएको प्रशासनलाई समेत दबाबमा पारेर विद्यार्थीको माग सम्बोधन नहुँदै ताला खुलाएको आरोप लगाएका छन्। ताला खुलाउने क्रममा विद्यार्थी र प्रहरीबिच ठेलमठेल हुँदा झण्डैं १५ विद्यार्थी माथि सामान्य चोटपटक लागेको बताईन्छ ।
ओपिडी, रिसेप्सन, काउन्टर कक्षको ताला खुलाएको भए पनि विद्यार्थी सोही स्थानमा भुइँमा बसेर रिले अनसन जारी राखेका छन्। अस्पताललाई जनपथ प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।

८६ विद्यार्थीले दिएनन् परीक्षा
चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबिबिएस तेस्रो वर्षको परीक्षा आइतबारबाट सुरु भएपनि जिएमसीका ८६ विद्यार्थीले सो परीक्षामा सहभागि जनाएनन्। विद्यार्थीबाट लिएको बढि शुल्क कलेजले फिर्ता नगरेसम्म परीक्षा नदिने अडान विद्यार्थीको छ। हिजोदेखि सञ्चालन भएको परीक्षामा सन् २०१५ व्याचका ८३ र सन् २०१४ ब्याचको पूरक परीक्षामा सहभागी हुनुपर्ने ३ विद्यार्थी गरी ८६ जनाले परीक्षा नदिएको विद्यार्थीले बताए। १७ माघदेखि विद्यार्थीले ४ बुँदे माग कलेज प्रशासनमा बुझाएर आन्दोलन थालेका थिए ।
