
पर्वत, फागुन १४ । पर्वतमा केही वर्षअघि चिठी बोकेर घरको दैलोमा पुग्ने हुलाकीहरु पछिल्लो समय देखिन छाडेका छन्। हुलाकीसँगै चिट्ठी पनि मुस्किल हुँदै गएको छ। चिठी पठाउने र चिठी बुझ्न जानेहरुका कारण घुइाचो हुने हुलाक कार्यलयहरु सूनसान छन्।
गाउँगाउँसम्म बिस्तर भएको इन्टरनेट सुविधाका कारण नै हुलाकी र चिट्ठी देख्न छाडिएको हो। प्रविधिको प्रयोग बढेसँगै हुलाकमार्फत आउने चिठी पाउन कम भएको जिल्ला हुलाक कार्यालय पर्वतका निमित्त प्रमुख गोपाल अधिकारीले बताए।
‘पछिल्लो समय सरकारी कार्यालयका चिट्ठीहरु मात्र आउने र जाने गरेको छ,’ उनले भने, ‘सर्वसाधरणले चिठी पठाउन नै आउँदैनन्।’ व्यक्तिगत चिट्ठी घट्दै गए पनि सरकारी चिठीपत्र तथा पार्सल, डाँक सेवा भने चलिरहेको छ। अहिले सबैभन्दा बढी स्थानीय तहका चिट्ठीको आदानप्रदान बढी हुने गरेको छ।
पर्वतमा रहेका ११ वटा इलाका हुलाक तथा ४३ ओटा अतिरिक्त हुलाक कार्यालयमा सरकारी चिठिपत्रहरुको मात्र कारोबार भैरहेको छ। जिल्लाभरि स्थायी र करार गरेर २०० जनाभन्दा बढी कर्मचारी जिल्ला हुलाकअन्तर्गत रहेका छन्। तर, हुलाक सेवा लिनेहरु नभएका कारण हुलाकमा कार्यरत कर्मचारीहरुको दिनचर्या बिना काम बित्ने गरेको छ।
स्थानीय तहको निर्वाचनअघि सूनसान रहेका हुलाक कार्यालयहरु जनप्रतिनिाधि आएपछि केही चहलपहल बढेको छ। जिल्ला समन्वय समिति, प्रशासन, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई, नगरपालिका, गाउँपालिकाहरुले एक अर्कालाई पठाउने पत्रहरुको संख्या भने बढ्दै गएको छ।
