
पोखरा, फागुन १४ । गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ । यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधी स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ रु २० लाख विनियोजनसमेत गरेको छ ।
गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क तथा मिर्गाैलामा समस्या देखिएकी एक महिलालाई सुत्केरी गराउन कठिन भएकाले मणिपाल शिक्षण अस्पतालबाट हवाई उद्धार गरेर काठमाडौँ पठाइएको मन्त्रालयका सूचना अधिकृत तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।
प्रदेशका जिल्लाबाट पोखराका सुविधसम्म अस्पतालमा कति गर्भवतीको हवाई उद्धार गर्नुपर्छ भन्ने यकिन तथ्याङ्क मन्त्रालयसित नभए पनि विशेषगरी मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, लमजुङ, पर्वत र बागलुङका माथिल्ला क्षेत्रबाट गर्भवतीलाई हवाई उद्धार गर्नुपर्ने बताइन्छ ।
सूचना अधिकृत शर्माले प्रदेशअन्तर्गतका सबै जिल्लाका सबै वडातहसम्म बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य मन्त्रालयको रहेको बताए । बर्थिङ सेन्टर स्थापनाका लागि रु एक करोड ९९ लाख विनियोजनसमेत गरिएको छ ।
FILE PHOTO
