
बागलुङ, फागुन १८ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास छनोट भएका छन् ।
ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम विभिन्न १६ घरवास अनुदानका लागि छनोट गरिएका हुन् । बागलुङका १९ घरवासले अनुदानका लागि प्रस्ताव पेश गरेका मन्त्रालयले जनाएको छ ।
तीन सय गाउँमा घरवास सञ्चालन गर्ने नीति लिएको प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले घरवास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको छ । परियोजना प्रस्ताव स्वीकृत भई सम्झौता गरेको १५ दिनभित्र घरवास समितिलेकार्य सञ्चालन गर्नुपर्नेछ ।
सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात रु चार लाख समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्यविधिमा छ । सरकारले घरवास चलाउन प्रदान गर्ने अनुदानको रकमको खर्च सम्बन्धमा कार्यविधि पनि बनाएको छ ।
घरवास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक सङ्ग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, दृश्यावलोकन स्तम्भ बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्ग बनाउन सो रकम खर्च गर्न सक्नेछन् ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे प्रवद्र्धनका लागि रु ३० करोड विनियोजन गरिएको बताए ।
File Photo
