पर्यटकीय नगरी बन्दीपुरमा अब स्थायी पर्यटक प्रहरी राखिने

Share:

तनहुँ, फागुन २१ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायी रूपमै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न जाने विदेशी पर्यटकको सुरक्षा र सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायी रूपमा पर्यटक प्रहरी खटाउन लागेको हो।

गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट अस्थायी रूपमा तीन पर्यटक प्रहरी खटाइएको छ। अब मन्त्रालयबाटै पर्यटक प्रहरीको दरबन्दी सिर्जना गरी खटाउन लागिएको पर्यटक प्रहरी (काठमाडौं)का प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार बन्दीपुरमा घुम्न आउने विदेशी पर्यटक दिनप्रतिदिन बढिरहेकाले उनीहरूको सुरक्षा र सहजताका लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा आठ पर्यटक प्रहरी खटाइन लागिएको हो।

आन्तरिक पर्यटकको सुरक्षालगायतको व्यवस्था स्थानीय प्रहरीले नै गर्ने भए पनि विदेशी पर्यटकका लागि पर्यटक प्रहरी आवश्यक पर्ने बस्नेतले बताए। ‘स्थानीय प्रहरीमा भाषागत समस्या हुने र विदेशी पर्यटकले स्थानीय प्रहरीलाई सहज रूपमा आफ्नो कुरा भन्न पनि नसक्ने अवस्था भएकाले विदेशी भाषामा दक्ष पर्यटक प्रहरी खटाइन लागिएको हो।’

पर्यटक प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकसँग विभिन्न भाषामा समन्वय गर्ने, गुनासो सुन्ने र उनीहरूबाट गएका उजुरी र निवेदन छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने काम गर्नेछन्।

यस्तै पर्यटकीय स्थलमा सुरक्षा व्यवस्था मिलाउने, होटल, ट्राभल, ट्रेकिङ र ¥याफ्टिङ एजेन्सीको निरीक्षण र अनुगमन गर्ने तथा पर्यटकविरुद्ध व्यवसायीबाट आएका गुनासो सुन्ने लगायतका काम पनि पर्यटक प्रहरीले गर्नेछन् ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले स्थानीय तह, स्थानीय नागरिक र व्यवसायीले बन्दीपुरमा रहेका स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई सहयोग गर्नुपनेर्मा जोड दिए।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर भनेकै पर्यटनले चिनिएको हुँदा पर्यटन विकासका लागि गाउँपालिका जस्तोसुकै योगदान गर्न तयार रहेको बताए। उनले पर्यटक प्रहरीलाई नागरिक र व्यवसायीबाट सहयोग हुनुपर्ने भन्दै गाउँपालिकाको तर्फबाट समेत सक्दो सहयोग गरिने जानकारी दिए।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैंश गुरुङले पर्यटनले मात्र बन्दीपुरको समृद्धि सम्भव भएको उल्लेख गर्दै पर्यटक प्रहरीको व्यवस्थाले यहाँ पर्यटकले सुरक्षित महसुस गर्ने बताए। बन्दीपुरमा वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक जाने गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: