
पर्वत, फागुन २१ । झुट्टा विवरण पेस गरी दोहोरो नागरिकता लिएको अभियोगमा पर्वत जिल्ला अदालतले बाबुछोरालाई जेल सजाय सुनाएको छ ।
तनहुँको साविक माझकोट गाविस-२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कैद र जरिवनाको सजाय सुनाएको हो।
न्यायाधीश सूर्यबहादुर थापाको इजलासले मुख्य अभियुक्त मीनबहादुरलाई एक वर्ष दुई महिना कैद तथा उनका बाबु दलबहादुरलाई एक वर्ष कैद तोकेको हो ।
यसैगरी दुवैलाई जनही २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ। साथै नागरिकता बनाउन सिफारिस गर्ने तत्कालीन पर्वत जिल्ला कुर्घा गाविसका सचिव पिताम्बर शर्मालाई १५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।
तनहुँ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका दलबहादुरका छोरा मीनबहादुरले पुनः पर्वत जिल्ला प्रशासन कार्यालयबाट सुजन थापा नाम राखेर दोस्रो नागरिकता लिएका थिए ।
पर्वत जिल्ला प्रशासन कार्यालयबाट २०६३ जेठ ३ मा जारी भएको सुजन थापा नामको नागरिकताको प्रमाणपत्रसहित मीनबहादुर कुमाललाई २०७४ माघ १३ मा पर्वत प्रहरीले नियन्त्रणमा लिएको थियो।
उक्त विषयमा प्रहरीले सोधपुछ गर्दा कुमालले आफूले झुट्टा विवरण पेस गरी नागरिकता लिएको स्वीकार गरेपछि सोही प्रमाणका आधारमा कुमाललाई पर्वत जिल्ला अदालतबाट झुट्टा विवरण पेस गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
सोही घटनामा संलग्न आरोप लागेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपीकृष्ण ढुंगाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई भने अदालतले सफाइ दिएको छ ।
अभियुक्त मीनबहादुर र दलबहादुर पुर्पक्षका लागि यसअघि देखि नै थुनामा छन् भने तत्कालीन गाविस सचिव शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी सेवानिवृत्त भएका छन्। फाँटवाला लामिछानेको एक वर्षअघि नै मृत्यु भइसकेको छ ।
