बिजनेशविहिन बनेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

Share:

पोखरा । गण्डकी प्रदेशसभाको बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक बिजनेशविहिन बनेपछि स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै सूचना टाँस गरी स्थगित गरिएको हो।

अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् । प्रदेशसभाको मङ्गलबार बसेको बैठकले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै उक्त दुर्घटनामा ज्यान गुमाएका र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थगित भएको थियो ।

यसअघि प्रदेशसभालाई विधेयक दिन आज बिहान विधायन समितिको बैठक पनि राखिएको थियो । विधायन समितिमा ताल प्राधिकरणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न प्रतिवेदन तयार पार्ने विषयमा छलफल गरिएको विधायन समितिका सदस्य विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

उनका अनुसार विधेयकमा ताल प्राधिकरणको उपाध्यक्ष पोखरा महानगरपालिकाको प्रमुख हुने व्यवस्था प्रस्ताव गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट पोखरा महानगरपालिकाकै प्रमुख नभई स्थानीय निकायका प्रमुखमध्येबाट हुनुपर्ने व्यवस्था गर्ने मत अघि सारिएको थियो ।

विधेयक सम्बन्धमा छलफल नपुगेको र नयाँ विधेयकको पनि प्रदेशसभामा पेश गर्ने समयावधि नपुगेका कारण बुधबारकोको बैठक स्थगन गर्नुपरेको जनाइएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त बिजनेस दिन नसक्दा प्रदेशसभाको बैठकले अपेक्षित गति लिन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: