
काठमाडौं । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जित्दै इतिहास बनाएका छन् । आइतबार हङकङमा भएको तीन हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन् ।
उनले यसअघि व्यक्तिगत रुपमा ८ मिनेट ४४ सेकेण्डको टाइमिङ निकालेकोमा सुधार गरे । यादव एसियन युथ एथ्लेटिक्समा भारतीय खेलाडीले बनाएको कीर्तिमान भन्दा ४ सेकेण्डले पछि रहे । २०१५ को एसियन युथ एथ्लेटिक्समा भारतका किसन नास्रीले बनाएको ८ मिनेट २६.२४ सेकेण्ड नै रेकर्ड रहेको छ ।
नेपाल एपीएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कांस्य पदक जिते ।
नेपाल एथ्लेटिक्स संघमा चर्किएको विवादका बीच प्रशिक्षक धनिराम चौधरीसहित अजितकुमार यादव मात्रै नेपालबाट हङकङ गएका थिए।
