
तनहुँ । धुलो आतंक बढेको भन्दै तनहुँको भिमाद नगरपालिका- ५ मिछुर्लुङका स्थानीयले सडक अवरुद्ध पारेका छन्। तनहुँ र नवलपुर पश्चिम जोड्ने श्रृंगपथमा दैनिक चल्ने सवारी साधनले धुलो बढाएको र सडकको स्तर कमजोर भएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।
आन्दोलनमा उत्रिएका स्थानीयले आइतबार बिहानैदेखि सो क्षेत्रको यातायात अवरोध पारेका छन्। सो सडकखण्ड भएर गुड्ने सवारी साधनले धुलो उडाएको र सडकको खराब अवस्थाका कारण दुर्घटनासमेत बढेकाले समस्या समाधानका लागि बाटो बन्द गरिएको स्थानीयको भनाई छ।
आफूहरुले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कसैले चासो नदिएको उनीहरुको गुनासो छ । उनीहरुले मोटरसाइकल, स्कुल बस र एम्बुलेन्स छाडे पनि अन्य सवारी आवागमन ठप्प पारेका छन् ।
आन्दोलनका कारण सो मार्ग हुँदै चल्ने तनहुँ, नवलपुर पश्चिम, पाल्पा र स्याङजासम्मको यातायात प्रभावित छ। श्रृंगपथमा हाल मना एण्ड जेभीले ओटासिलको काम गरिरहेको छ। भिमादबाट सुरु सडकको ओटासिलको काम ऋषिङ र घिरिङ गाउँपालिकामा चलिरहेको छ।
ऋषिङतर्फको काम करिब सकिएको छ तर घिरिङ गाउँपालिकामा पर्ने धारुङदेखि देउरालीसम्मको पाँच किलोमिटर सडकखण्डमा अहिले ओटासिलको काम जारी छ। ठेक्काको अनुगमन र निर्देशनको काम जिल्ला समन्वय समितिले हेर्नुपर्ने नगरपालिकाका प्रमुख मेखबहादुर थापा बताउँछन ।
स्थानीयले जनप्रतिनिधिबाट समाधान खोजे पनि जनप्रतिनिधिहरु नगएकाले विवाद समाधान गर्न नसकेको ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी सहायक निरीक्षक कमल मझकोटीले जानकारी दिए ।
