
कलेजको कक्षाकोठा जस्तै देखिने स्थानमा विद्यार्थीहरुले धुम्रपान गरिरहेको तस्विर केही समयदेखि इन्टरनेटमा ब्यापक रुपमा सेयर भइरहेको छ । उक्त तस्विरले सबैलाई अचम्मित बनाएको थियो । तर, अहिले उक्त तस्विर सुर्तीबारेको कक्षा रहेको खुलेको छ ।
उक्त विवादास्पद फोटो गत नोभेम्बरमा चीनको सामाजिक सञ्जाल वेइबोमा भाइरल भएको थियो । फोटोमा युवा विद्यार्थीहरुले चुरोट सल्काउँदै गरेको देख्न सकिन्छ भने केही विद्यार्थीले स्मार्टफोनले फोटो खिचिरहेको र शिक्षकले त्यसलाई चुपचाप हेरिरहेको पनि देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा फोटो भाइरल बनेपछि त्यसको व्यापक आलोचना भएको थियो । अन्ततः विश्वविद्यालयका डिनले यसबारे स्पष्टिकरण दिनुपरेको थियो । युनान कृषि विश्वविद्यालयका डिन झाओ झेनडियोङका अनुसार उक्त फोटो सुर्तीबारे कक्षाका दौरान लिइएको थियो ।
जसमा शिक्षकले विभिन्न ब्रान्डका चुरोट ल्याएर विद्यार्थीहरुलाई चाख्न दिएका थिए । सुर्तीबारे विस्तृत रुपमा बुझ्न, यसको स्वाद र यसले घाँटीमा गर्ने प्रभावबारे बुझ्न शिक्षकले सो विधि अपनाएको स्पष्टिकरण उनले दिएका छन् ।
झाओका अनुसार विद्यार्थीहरुलाई चुरोट पिउन बाध्यकारी नभए पनि सबैले यसमा भाग लिएका थिए । ‘हामीले चुरोट पिएका होइनौँ । हामीले त्यसको बारेमा जानकारी मात्र लिएका हौँ,’ विद्यार्थीले सामाजिक सञ्जालमा लेखेका छन् ।

