मेस्सीको ह्याट्रिक : बार्सिलोना विजयी

Share:

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिगलिडर बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटीसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

रियल बेटीसको मैदानमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । यस्तै बार्सिलोनाका लागि थप गोल लुइस स्वारेजले गरे । रियल बेटीसका लोरेन मोरोनले एक गोल फर्काए ।

पहिलो हाफको १८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता २–० को बनाए । खेलको ६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए ।

खेलको ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेल ३–१ को बनाए । तर, खेलको ८५ औं मिनेटमा मेस्सीले ह्याट्रिक गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए । योसंगै मेस्सीले ला लिगामा ३३ औं ह्याट्रिक पुरा गरे ।

जितसंगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: