
बिग न्यूज
पोखरा, ५ चैत । गायक प्रमोद खरेल पोखरेलीमाझ एकल रुपमा प्रस्तुत हुँदैछन् । ‘पोखरामा प्रमोद खरेल’ शिर्षक दिएर आयोजक एभिन्यू ग्रुप अफ कमर्शले खरेललाई विशेष रुपमा पोखरेलीमाझ पस्कन लागेको हो । आयोजक कम्पनीले मंगलबार पोखरामा पत्रकार भेटघाट गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको छ ।
प्रमोद खरेललाई मूख्य रुपमा फिचर गरि अन्य केहि सहयोगी कलाकारहरुलाई समेत आयोजकले पोखरेलीमाझ पस्किँदैछ । ‘यो लेभलले गायक खरेल दर्शक र स्रोतामाझ प्रस्तुत हुन लागेको यो पहिलो पटक नै हो । त्यसैले हामीले यो कार्यक्रमलाई ऐतिहासिक रुपमा लिएका छौँ ।’ आयोजक एभिन्यू ग्रुपका कार्यकारी निर्देशक प्रदिप अधिकारीले भने–‘पोखरा मै उनलाई यो तवरबाट उपस्थित गराउन पाउँदा हामी निकै खुशी पनि छौँ ।’
यो इभेन्टलाई बार्दली मिडिया प्रालिले व्यवस्थापनको जिम्मा लिएको छ । ‘ब्यवस्थापकीय हिसाबले पनि हामीले यो कार्यक्रमलाई निकै भव्य र शानदार बनाउने प्रयत्न गरेका छौँ । र, हामीले यो कार्यक्रमलाई छुट्टै एउटा स्तर दिन कुनै कसर छाड्ने छैनौँ ।’ बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने–‘पोखरामा प्रमोदको क्रेज भएको हामीले पाएका छौँ । दर्शक र स्रोताको साथ पाउनेमा पनि हामी ढुक्क छौँ ।’
यो इभेन्टका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । पोखरा सभागृहमा चैत २२ गते साँझ ४ बजेदेखि हुने विशेष कार्यक्रममा गायक खरेलसँगै गायिका मिना निरौला, हास्यब्यंगकार मनोज गजुरेल र अभिनेत्री केकी अधिकारीको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ । गायक खरेलले कार्यक्रममा आफ्ना ३० भन्दा बढि चर्चित गीतहरु गाउनेछन् ।
यो कार्यक्रमको आयोजक एभिन्यू ग्रुप अफ कमर्स एक बहुउद्देश्यीय संस्था हो । डिजिटल मार्केट यो संस्थाको लक्ष्य हो । विशेषत इ–फुड, इ–कमर्स, मल्टिलेभल मार्केटिङ्ग, इ–लाइब्रेरी, डिजिटल पेमेन्ट गेट वे लगायत इन्टरनेट मार्फत हुने अधिकतम कामहरु यो संस्थाले गर्दै आएको छ । त्यस्तै यो कार्यक्रमलाई मनिटरिङ् पिस फाउण्डेसनले सह आयोजना गरेको छ । यो संस्थाले मानसिक रोगका विरामीहरुलाई परामर्श तथा आवश्यक औषधोपचारको व्यवस्था गर्दै आईरहेको छ । कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको बार्दली मिडिया प्रा.लि. नेपाली कला, संगित, साहित्य र संस्कृतिसंग सम्वन्धित विधाका कार्यक्रमहरु आयोजना तथा व्यवस्थापन गर्ने कम्पनी हो ।
तस्वीर सौजन्य : परिचय नेटवर्क
