अवैध हतियार फिर्ता गर्न आनाकानी

Share:

पर्वत । पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको १५ दिनसम्म पनि हतियार फिर्ता गर्न कोही आएका छैनन् ।

जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिलेसम्म हतियार फिर्ता गर्न कोही नआएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए । अवैध हतियार फिर्ता गर्न ठाउँठाउँमा खबर गरिएको छ ।

तिवारीले मातहतका प्रहरी र जनप्रतिनिधिमार्फत सूचना प्रवाह गरिरहेको जानकारी दिएका छन् । जिल्लामा २८५ ले हतियार लिने अनुमति लिएको भए पनि नियमितरूपमा हतियारको नवीकरण जम्मा ६० ले मात्रै गर्दै आएका छन् ।

दुई सय २५ ले नियमित हतियारको नवीकरण नगरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डले देखाउँछ । नेपाल सरकारले ३५ दिनभित्र हतियार फिर्ता गर्न अनुरोध गरिरहेको छ ।

तोकिएको दिनसम्म हतियार नबुझाए हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार कारवाही हुने सरकारले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांशसँग बाह्र बोर, नलकटुवा र भरुवा बन्दुक रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: