पर्वतमा एक युवाको हत्या, दुईजना पक्राउ, मुख्य योजनाकार फरार

Share:

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नंं. ८ चित्रेमा कुटपिटबाट एक युवाको हत्या भएको छ । गत मंगलवार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गंगाप्रसाद विकको हत्या भएको हो ।

चित्रेस्थित नेपाने सादी खोलामा कुटपिट गरी विकलाई मारेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्याको सूचना पाएलगत्तै प्रहरीले सोही ठाउँको सामुदायिक जंगलमा लुकिछिपि रहेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका युवाहरुले प्रारम्भिक बयानका क्रममा घटना स्वीकार गरेका छन् भने मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

गत मङ्गलबार राति ९ बजेको समयमा मृतक गङ्गाप्रसाद विक, पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसँगै बसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गङ्गाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन्। मृतक विकको शव परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: