सञ्चारको पहुँचमा ९० हजार म्याग्देली

Share:

म्याग्दी । सूचना र सञ्चारको क्षेत्रमा हिमाली जिल्ला म्याग्दीले फड्को मारेको छ । हातहातमै बोकेको मोबाइलबाट देशविदेशमा रहेका म्याग्देली अब भने आफन्तसँग कुरा गर्नुका साथै इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको पहुँचमा छन् ।

नेपाल टेलिकम म्याग्दीका अनुसार जिल्लाका ९० हजार जनता सञ्चारको पहुँचमा छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा करीब ८० प्रतिशत नागरिक सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिए ।

शाहले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ७० हजार ४३२, स्काइ फोनका १५ हजार २६३ रहेका छन् । यसैगरी पोष्टपेड मोबाइल बोक्ने एक हजार ७१४, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५१५ ग्राहक छन् ।

जिल्लाका विभिन्न ठाउँमा गरी कूल ३२ बिटिएस टावर सञ्चालनमा छन् । सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पस चोक, बेनी नगरपालिकाको ५ र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएको छ ।

यसैगरी निजी क्षेत्रको एनसेलको पनि म्याग्दीमा राम्रै पहुँच रहेको छ । म्याग्दीको माथिल्लो क्षेत्रका अधिकांश जनताले एनसेलको सीम प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै म्याग्दीका ५५ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् भने रेडियो, पत्रपत्रिका र टेलिभिजनमा पनि पहुँच बढ्दै गएको नेपाल पत्रकार महासङ्घ म्याग्दीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: