
पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् ।
पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् ।
झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो पटक पनि पश्चिमाञ्चल होटल सङ्घ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरालगायत विभिन्न पर्यटनसँग समबन्धित संस्थाको सहकार्यमा अभियानलाई निरन्तरता दिँदै पोखरा भ्रमणका लागि निम्तो बाँडेका छन् ।
काठमाडौँमा आज पत्रकार सम्मेलन गरी व्यवसायीले सो अभियानमा सहभागी हुन काठमाडौँवासीलाई आग्रह गरेका छन् । सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्थापित गर्ने विगतमा झै यो पटक पनि जाउँ है पोखरा अभियानमार्फत धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्न तथा उनीहरुको बसाइँ अवधि लम्ब्याउन अभियानलाई निरन्तरता दिइएको बताए ।
पोखरा ६० प्रतिशत आन्तरिक पर्यटनले धानेको उल्लेख गर्दै उनले गण्डकी प्रदेश सरकारले पनि ‘आन्तरिक पर्यटन वर्ष २०१९’ मनाइरहेको सन्दर्भमा अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
सङ्घका अनुसार स्वदेशी र विदेशी गरी वार्षिक १० लाखको हाराहारीमा पर्यटकले पोखरा भ्रमण गर्ने गरेका छन् । कार्यक्रम अन्तर्गत यस पटक काठमाडौँ हुँदै जनकपुर, चितवन, लुम्बिनी र पोखरामा सरोकारवालासँग अन्तक्र्रिया गरी पोखरा भ्रमणका लागि आग्रह गरिने आयोजकले जनाएको छ ।
