
‘ट्याक्सी चालकले ठगे । बढी पैसा लिए । मिटरमा गुड्न मान्दैनन् । फेला परेको सामान लुकाए ।’ गुनासो धेरैको छ । तर केही ट्याक्सी चालक अपवाद छन् । सबैले ठग्दैनन्, सबैले सामान लुकाउँदैनन् । ट्याक्सी नं. ग१ज ४९०९ को चर्चा यतिबेला चुलिएको छ ।
ट्याक्सीमा धेरैले आफ्ना सन्तानको नाम, बुबाआमाको आर्शिवाद र मन्दिर, कुलदेवताको नाम लेखिएको देखिन्छ । यस ट्याक्सीमा भने लेखिएको छ: ‘५० दिन भूकम्प पीडित, १०५ दिन बृद्धबृद्धाको निःशुल्क ट्याक्सी सेवा पछि अब आउने दिन नेत्रहीनको लागि (पोखरा भित्र)’
लेक्चरर तथा कानुन व्यवसायी उपेन्द्र पौडेलले ‘मानवता मरिहालेकै चाही छैन है । पोखरामा चल्ने यो ट्याक्सीको सन्देसले दिलखुस बनायो । यो सवारीका साहुजीरचालकसँग चिया पिउने मन भो । चिन्नुहुन्छ कसैले?’ लेखेर ट्याक्सीको तस्विर सार्वजनिक गरेका छन् ।
ट्याक्सी स्याङ्जा वालिङ घर भई पोखरा रामबजार बस्ने चेतबहादुर आलेको हो । उनले भुकम्प प्रभावित र बृद्धबृद्धाको सेवा पछि अब यो सेवा निकट भविष्यमै सुरु गर्ने योजनामा रहेको बताए । आलेसँग भेट गरेर हामी थप सामाग्री प्रस्तुत गर्नेछौं ।

