
गोरखा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए ।
सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिइएको उनले बताए।बर्डफ्लु भएको भेटिए बर्डफ्लु रोग नियन्त्रण कार्यविधि २०६४ अनुसार कारवाही अगाडि बढाइने छ।
बरामद गरिएका चल्लाको भेटिनरी प्रमाणपत्रमा फाराम भर्दा हस्ताक्षर गर्ने चिकित्सकको अक्षर र फाराम भर्दाको अक्षर समेत फरक पाइएको प्रमुख डा ठाकुरको भनाइ छ । उनले हस्ताक्षर चिकित्सकले गर्ने भए पनि व्यहोरा अरुले नै भर्ने गरेकाले पनि शङ्का उब्जिएको बताए ।
नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणपछि बडफर््लु भएको पूष्टी भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने छ । पछिल्लो पटक केही जिल्लामा बर्डफ्लु भेटिएको पूष्टी भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको उनको भनाई छ ।
