
पोखरा । कास्की प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूह निकट २ विद्यार्थीलाई सोमबार पक्राउ गरेको छ । पृथ्वीनारायण क्याम्पस अगाडी विरोध प्रदर्शन गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन रहेका छन् ।
यस्तै प्रहरीले प्रदर्शनस्थलमा भिडियो खिच्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत नियन्त्रणमा लिएको थियो । तर उनलाई केही समयपछि रिहा गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
विप्लव समूहको गतिविधि निस्तेज पार्ने अभियानमा रहेको प्रहरीले केही दिनअघि प्रदेश र जिल्लाका जनसरकार प्रमुखलाई समेत पक्राउ गरिसकेको छ । हालसम्म देशभरबाट ‘विप्लव’ समूहका तीन सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।
