
पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीका स्थानीय युवाहरुले जथाभावी फोहोर फाल्ने दुई जनालाई पक्राउ गरेका छन । बुधबार बिहान स्थानीय शेषकान्त बरालले देखेपछि भ्यु पोइन्ट युवा क्लबको सक्रियतामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो ।
बुटवलबाट भैंसी ल्याएर पोखराबाट फर्कदै गरेको लु २ च ४६१७ नम्बरको बोलेरो गाडीबाट फोहोर फाल्दै गर्दा पक्राउ गरिएको क्लबका अध्यक्ष सुन्दर बराल `धडकन´ ले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका उनीहरुलाई पाँच हजार जरिवानासहित आगामी दिनमा फेरि सोही क्रियाकलाप दोहोरिए कडा कार्बाही गर्ने चेतावनी दिएर छाडिएको छ ।
यसअघि क्लबको सक्रियतामा पुम्दी-भुम्दीअन्तर्गत खाडेखोला, तिलार, ठुलिबिडि, भ्यु पोइन्ट, अर्चलबोट, कालीमाटीबाट जथाभावी छोडिएका छाडा चौपायालाई महनगरसंग सहकार्य गरेर महानगरको पशुघरमा छाडिएको थियो ।
यस्तै क्लबले राजमार्ग छेउछाउमा अवैधानिक ढङ्गले राखिएका होडिङ बोर्डहरु हटाउनुका साथै राजमार्ग आसपासमा पटकपटक सरसफाइ कार्यक्रम पनि गरिसकेको बरालले जानकारी दिए ।
