दशौँ राष्ट्रिय हेमजा आलु महोत्सव सुरु, ३२ रुपैयाँमा आलुको कारोवार

Share:

पोखरा । दशौँ राष्ट्रिय हेमजा आलु महोत्सव-२०७५ शुक्रबारदेखि सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सव बैशाख १ गते सम्म हेमजास्थित विष्णुपादुका खेल मैदानमा जारी रहने छ ।

प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए ।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने महोत्सवको उद्देश्य छ।

महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहेको महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।

महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियत तथा तीन सयमा महोत्सव अवधिभर स्थानीय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: